काठमाडौँ । दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।
बिहीबारको संसद् बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग क्षतिपूर्ति र उपचारको माग गरेकी हुन्।
सांसद सिद्धिकीले सदनमा जानकारी गराएअनुसार कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाइएलगत्तै स्वास्थ्यमा जटिलता देखिएको थियो । खोपपश्चात गम्भीर बिरामी परेकी बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ दिनसम्म भेन्टिलेटरसहितको आइसियुमा उपचार गरिएको थियो । हाल उनी घर फर्किए पनि उनका हातखुट्टा चल्न नसक्ने अवस्थामा रहेको सांसद सिद्धिकीले बताइन् ।
उनले स्वास्थ्य मन्त्रालयलाई उक्त घटनाको छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था मिलाउन जोडदार माग गरेकी छन् ।
यसैगरी, सांसद सिद्धिकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजतलासको अवस्थाबारे पनि सरकारसँग जवाफ माग गरिन् । उनले तथ्यांक प्रस्तुत गर्दै बेपत्ताहरूको अवस्था अझै स्पष्ट नहुनु दु:खद् रहेको बताइन् ।
उनले मुलुकको समग्र महँगी, नागरिकले भोग्नुपरेको आर्थिक संकट र आत्महत्याका बढ्दो घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘देश महँगो भयो, हरेक कुरा महँगो हुँदै जाँदा नागरिक पिल्सिएका छन् । आत्महत्याका घटना किन बढिरहेका छन् ? सरकारले नागरिकको जीवन रक्षाका लागि कस्तो योजना बनाउँदै छ ?’
उनले देशको जिम्मेवार अभिभावकका रूपमा सरकारले ठोस योजनासहित नागरिकलाई जवाफ दिनुपर्ने बताइन् ।






