काठमाडौँ। भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै यातायात व्यवस्था कार्यालय, नेपालगञ्जले सवारी चालक अनुमति पत्रका लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाको मिति संशोधन गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागबाट नेपालका विभिन्न भूभागमा चट्याङ्सहित भारी तथा अति भारी वर्षाको सम्भावना रहेको सूचना प्राप्त भएपछि कार्यालयले नियमित सञ्चालन हुँदै आएका परीक्षाको कार्यतालिका परिवर्तन गरेको जनाएको छ।
कार्यालयका अनुसार असोज ९ गते सञ्चालन हुने तय भएको लिखित परीक्षा अब असोज १४ गते सञ्चालन हुनेछ।
त्यसैगरी, सवारी चालक अनुमति पत्र अन्तर्गत सीरसी १ तथा मेसिनरी (एच२, एच११, एच१२, एच१३, जे१, जे२, जे३, जे४) वर्गको प्रयोगात्मक परीक्षा पनि साबिक मितिबाट सारिएको छ।
साबिकमा असोज ९ गते तोकिएको ट्रायल परीक्षा अब असोज १६ गते र असोज १२ गते तोकिएको ट्रायल परीक्षा असोज २८ गते सञ्चालन हुने कार्यालयले जनाएको छ।
कार्यालयले संशोधित कार्यतालिका अनुसार परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित परीक्षार्थीलाई सोहीअनुसार तयारी गर्न आग्रह गरेको छ।







