काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले निजामती कर्मचारीको क्षमता तथा नेतृत्व विकासलाई प्रभावकारी बनाउँदै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) लाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरिने बताएका छन् ।
प्रतिष्ठानको ४४औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै सचिव भुजेलले बदलिँदो प्रशासनिक आवश्यकता र कर्मचारीको भूमिकाअनुसार तालिम तथा सिकाइ प्रणालीलाई थप आधुनिक बनाउनुपर्ने बताएका हुन् ।
उनले स्टाफ कलेजलाई कर्मचारीलाई तालिम दिने परम्परागत संस्थामा मात्र सीमित नराखी निजामती कर्मचारीको व्यावसायिक दक्षता, व्यवस्थापकीय क्षमता तथा नेतृत्व विकास गर्ने प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।
सचिव भुजेलले कर्मचारीको क्षमता अभिवृद्धिसँगै अनुसन्धान र परामर्शका क्षेत्रमा समेत प्रतिष्ठानको भूमिका विस्तार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीलाई समयानुकूल ज्ञान, सीप र नेतृत्व क्षमता प्रदान गर्ने गरी प्रशिक्षण प्रणालीलाई परिमार्जन गर्न आवश्यक छ ।
प्रतिष्ठानले निजामती सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै उनले यसको भौतिक पूर्वाधार विकास, विशेषगरी काभ्रेमा जग्गा प्राप्ति तथा आवश्यक पूर्वाधार विस्तारका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
हालै प्रतिष्ठानले प्राप्त गरेको आईएसओ प्रमाणपत्रले संस्थाको गुणस्तर र व्यावसायिकतालाई थप प्रमाणित गरेको उल्लेख गर्दै सचिव भुजेलले कर्मचारीको सिकाइ प्रणालीलाई आधुनिक प्रविधि र आवश्यकतासँग जोड्नुपर्ने बताए ।
उनले सरकारी कर्मचारीको क्षमता विकासलाई संस्थागत गर्दै व्यवस्थापन तथा नेतृत्व विकासको केन्द्रका रूपमा प्रतिष्ठानलाई अघि बढाउने र परिवर्तित प्रशासनिक प्रणालीअनुसार दक्ष जनशक्ति तयार पार्ने बताए ।
शाखा अधिकृतस्तरको तालिम पनि स्टाफ कलेजबाटै
सचिव भुजेलले हालै खारेज गरिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालन हुँदै आएको शाखा अधिकृतस्तरको तालिमलाई समेत स्टाफ कलेज मातहत ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
प्रदेश तहमा छुट्टाछुट्टै प्रशिक्षण केन्द्र स्थापना भइसकेको अवस्थामा संघीय तहमा समान प्रकृतिका दोहोरो संरचना आवश्यक नपर्ने उनको भनाइ छ ।
शाखा अधिकृतदेखि उच्च तहका कर्मचारीसम्मको क्षमता तथा नेतृत्व विकासलाई व्यवस्थित र प्रभावकारी बनाउन स्टाफ कलेजलाई प्रमुख प्रशिक्षण संस्थाका रूपमा विकास गर्नुपर्ने उनले बताए ।
सचिव भुजेलले स्टाफ कलेजले कर्मचारीको नियमित तालिमसँगै अनुसन्धान र परामर्शमा समेत अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सरकारी निकाय, विश्वविद्यालय र प्रशिक्षण संस्थाबीचको सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
उनका अनुसार कर्मचारीको क्षमता विकास, नेतृत्व निर्माण र प्रशासनिक कार्यसम्पादन सुधारलाई एकीकृत रूपमा अघि बढाउँदै प्रतिष्ठानलाई उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्ने कार्यमा मन्त्रालयको निरन्तर सहयोग रहनेछ ।






