काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडक खण्ड खुलाउन १० वटा हेभी उपकरण परिचालन गरिएको छ।
विभिन्न स्थानमा खसेको लेदो, ढुंगा तथा माटो पन्छाएर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सडक डिभिजन कार्यालय र विपद् व्यवस्थापन टोलीको समन्वयमा काम भइरहेको हो।
भारी वर्षाका कारण मलेखुदेखि मुग्लिङसम्मको सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको थियो। कतिपय स्थानमा ठूलो मात्रामा लेदो र ढुंगा सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
सडक खुलाउन डोजर, एक्साभेटर तथा लोडरसहितका १० वटा भारी उपकरण संवेदनशील स्थानमा परिचालन गरिएको छ। लगातार वर्षा भइरहेका कारण माथिबाट ढुंगा तथा पहिरो खस्ने जोखिमबीच प्राविधिक टोलीले सडक सफाइको काम अघि बढाइरहेको छ।
सडकलाई तत्काल कम्तीमा एकतर्फी रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ। त्यसपछि रोकिएका सवारी साधनलाई क्रमशः सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने तयारी गरिएको छ।
पृथ्वी राजमार्ग काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक मार्गसँग जोड्ने महत्वपूर्ण सडक भएकाले यसको अवरोधले यात्रु आवागमनसँगै दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीको ढुवानीमा समेत असर पार्ने गरेको छ।
मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा बाढीको जोखिम बढेको छ। वर्षाका कारण विभिन्न रणनीतिक सडक खण्डमा समेत अवरोध सिर्जना भएपछि सडक तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
यात्रा गर्नैपर्ने अवस्था भएमा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो खस्ने सम्भावना भएका स्थानमा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।






