काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल नियम तथा विनियमावलीले उपलब्ध गराएका सबै लगानी उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन्।
आज अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धि छलफलमा उहाँले नेप्सेमा इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायतका उपकरणको कारोबार हुँदै आएको जानकारी दिए । साथै, ओटीसी (ओभर द काउन्टर) बजारसमेत नेप्सेले सञ्चालन गरिरहेको उनले बताए ।
सुवेदीले पछिल्लो समय मार्जिन ट्रेडिङ कारोबारसमेत सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार धेरै ब्रोकर कम्पनीले मार्जिन लेन्डिङ कारोबार शुरु गरिसकेका छन् ।
लगानीकर्ताको मागअनुसार ‘आफ्टर मार्केट अर्डर’ सुविधा पनि कार्यान्वयनमा आइसकेको र त्यसबाट लगानीकर्ताले ट्रेडिङ सुविधा प्राप्त गरिरहेका छन् । नेप्से आफ्नो भूमिकाप्रति निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै सुवेदीले बजारका आवश्यकता पूरा गर्ने क्रममा उपलब्ध नियमावली, विनियमावली तथा कार्यविधिअनुसार काम भइरहेको बताए ।
उनले नयाँ वित्तीय उपकरण ल्याउने विषय नीति निर्माणसँग सम्बन्धित रहेको स्पष्ट पार्दै यस्ता उपकरणसम्बन्धी नीति मुख्यतः नेपाल धितोपत्र बोर्ड (सेबोन), अर्थ मन्त्रालयले तय गर्ने भएकाले नेप्सेले सम्बन्धित निकायबाट बनेका नीतिलाई कार्यान्वयन गर्ने भूमिका निर्वाह गर्दै आएको बताए ।
पछिल्लो समय नयाँ वित्तीय उपकरणका विषयमा सेबोनसँग समन्वय भइरहेको जानकारी दिर्दै उनले आगामी दिनमा जुनसुकै नयाँ उपकरण आए पनि त्यसलाई कार्यान्वयन गर्न नेप्से तयार रहेको बताए । मार्जिन लेन्डिङमा विभिन्न ब्रोकरबाट फरक-फरक मूल्य निर्धारण भएको विषयमा नेप्सेले निरीक्षण गर्ने पनि सुवेदीले बताए । उनका अनुसार नेप्सेले तयार गरेको मार्जिन कारोबार कार्यविधिअनुसार ब्रोकरहरूले कारोबार गरिरहेका छन् वा छैनन् भन्ने विषयमा निरीक्षण गरिनेछ ।
नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम को स्वामित्वसम्बन्धी प्रश्नमा सुवेदीले प्रणालीको स्वामित्व नेप्सेकै रहेको बताए । सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्रणालीको मर्मतसम्भारका लागि बोलपत्र आह्वान गरिएको र त्यस प्रक्रियाबाट कम्पनी छनोट गरिएको उनको भनाइ छ ।
निमित्त प्रमुख कार्यकारी अधिकृत सुवेदीले भने,‘अहिलेको सन्दर्भमा हामीसँग उपलब्ध रहेका र नियम तथा विनियमले व्यवस्था गरेका सम्पूर्ण वित्तीय उपकरणहरूको कारोबार गराउन नेप्से सक्षम छ । बजारमा उपलब्ध रहेका विभिन्न वित्तीय उपकरणहरूको हामीले कारोबार गराउँदै आएका छौँ । इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायत ओटीसी बजारसमेत नेप्सेले सञ्चालन गरिरहेको अवस्था छ । पछिल्लो अवस्थामा मार्जिन कारोबार पनि सुचारु भएको छ । धेरै ब्रोकरहरूले मार्जिन ऋण कारोबार शुरु गर्नुभएको छ । त्यस्तै, लगानीकर्ताको मागबमोजिम आफ्टर मार्केट अर्डर पनि कार्यान्वयनमा आइसकेको छ र प्रयोगमा समेत आएको छ । धेरै लगानीकर्ताहरूले यसबाट पनि कारोबार सुविधा प्राप्त गर्नुभएको कुरा म यहाँ निवेदन गर्न चाहन्छु । अब नेप्से सधैँ आफ्नो भूमिकाप्रति प्रतिबद्ध छ र आफ्नो जिम्मेवारी नियमित तथा कटिबद्ध ढङ्गले निर्वाह गर्दै आएको कुरा म यहाँ स्मरण गराउन चाहन्छु । मुख्यतः बजारको माग तथा हामीसँग उपलब्ध नियमावली, विनियमावली र कार्यविधिअनुसार नै हामीले आफ्ना कार्यहरू गर्दै आएका छौँ । पछिल्लो समयमा कतिपय सन्दर्भमा हामीलाई विभिन्न वित्तीय उपकरणहरू नेप्सेले ल्याएन, अथवा बजारमा नेप्सेले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गरेन भन्ने विषयहरू पनि उठ्ने गरेका छन् । यस सम्बन्धमा हामीले भन्दै आएका छौँ कि नयाँ वित्तीय उपकरण ल्याउने विषय नीतिसँग जोडिएको विषय हो । नीति निर्माण मुख्यतः नेपाल धितोपत्र बोर्ड वा अर्थ मन्त्रालयले गर्ने विषय हो । सम्बन्धित निकायहरूले बनाएको नीति हामीले कार्यान्वयन गर्नैपर्छ र सोहीअनुसार कार्यान्वयन गर्दै आएका छौँ । पछिल्लो समयमा यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डसँग पनि हाम्रो समन्वय भइरहेको छ । आगामी दिनमा जुनसुकै नयाँ वित्तीय उपकरणहरू आए पनि नेप्से ती उपकरणहरू कार्यान्वयन गर्न प्रतिबद्ध छ भन्ने जानकारी म गराउन चाहन्छु । यहाँ विभिन्न प्रश्नहरू पनि उठेका छन्। यी सन्दर्भमा पनि मैले केही कुरा स्पष्ट गर्नुपर्ने हुन्छ । नेप्सेले लगानीकर्तासँग सम्बन्धित विषयवस्तुमा लगानीकर्ताहरूलाई विभिन्न समयमा बोलाउने तथा छलफल गर्ने गरेको छ । मार्जिन ऋण कारोबारमा फरक-फरक मूल्य निर्धारण भएको भन्ने सन्दर्भमा नेप्सेको आफ्नै मार्जिन कारोबारसम्बन्धी कार्यप्रक्रिया रहेको छ । सोही कार्यप्रक्रियाबमोजिम ब्रोकरहरूले कारोबार गरेका छन् कि छैनन् भन्ने विषयमा हामीले निरीक्षण गर्ने नै छौँ । नेप्सेको अनलाइन कारोबार प्रणालीको स्वामित्व कसले लिन्छ भन्ने विषयमा पनि प्रश्न आएको थियो । निश्चित रूपमा यसको स्वामित्व नेप्सेकै हो । प्रणालीको मर्मतसम्भारका लागि नेप्सेले सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम नै बोलपत्र आह्वान गरेको थियो । बोलपत्र प्रक्रियाबाट कुनै कम्पनी छनोट हुनु स्वाभाविक प्रक्रिया हो । तर त्यसको स्वामित्व, स्रोत कोडदेखि सम्पूर्ण सञ्चालनसम्बन्धी अधिकार नेप्सेकै हुन्छ । यो नेप्सेको सम्पत्ति हो । ब्रोकरहरूलाई हामीले प्रणालीमा लगइन गर्न प्रयोगकर्ता नाम तथा पासवर्ड उपलब्ध गराउँछौँ र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सँग जोडिनका लागि आवश्यक पहुँच प्रदान गर्छौँ । त्यसै कारणले टीएमएस सञ्चालन गर्ने जिम्मेवारी ब्रोकरहरूको हो र उहाँहरूले नै त्यसको सञ्चालन गर्दै आउनुभएको छ ।’
उनका अनुसार सिस्टमको सोर्स कोडदेखि सम्पूर्ण सञ्चालन तथा स्वामित्व नेप्सेकै रहेको छ । ब्रोकरहरूलाई सिस्टममा लगइन र पासवर्ड उपलब्ध गराएर ट्रेड म्यानेजमेन्ट सिस्टमसँग कनेक्ट गर्ने व्यवस्था गरिएको र टिएमएस सञ्चालनको जिम्मेवारी भने सम्बन्धित ब्रोकरकै रहेको सुवेदीले बताए।



