काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा आएर उद्घाटन गर्ने अपेक्षासहित कुर्सी राखिएको बताएका छन्।
काठमाडौँको खुलामञ्चमा आइतबार सम्पन्न १५औँ महाधिवेशनको उद्घाटन सत्रमा देउवा भने उपस्थित भएनन्।
उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका थापाले देउवाको अनुपस्थितिबारे उल्लेख गर्दै उनीबाट महाधिवेशन उद्घाटन हुने अपेक्षा रहेको बताएका छन्।
‘यहाँ हामीले शेरबहादुर दाइका लागि कुर्सी राखेका थियौँ । उहाँले आएर उद्घाटन गर्नुहुन्छ भन्ने अपेक्षा थियो,’ उनले भनेका छन्।
देउवा समानान्तर रूपमा महाधिवेशनको तयारीमा रहेका बेला थापाले उनीप्रतिको सम्मानलाई पार्टी बलियो बनाउने कामसँग जोडेर व्याख्या गरेका छन्।
‘शेरबहादुर देउवालाई सम्मान गर्ने भनेको उहाँको ढोकामा कति पटक सलामी दियो भनेर होइन, उहाँले बनाएको पार्टी कति अग्लो बनायो भनेर हुन्छ,’ उनले भनेका छन्।
आइतबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।



