काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीन उच्च तहका कर्मचारीको बढुवा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ।
त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौँमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय भएको छ।
सरकारले भूमि, वन र विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधनका लागि अध्यादेशको बाटोसमेत रोजेको छ। बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
तीन उच्च अधिकारीको बढुवा
मन्त्रिपरिषद्ले नेपाल इन्जिनियरिङ सेवातर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाल प्रशासन सेवातर्फका सहसचिव चक्रबहादुर बुढालाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।
बैठकले नेपाल लेखापरीक्षण सेवातर्फका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।
यससँगै बुधबारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ति, कूटनीतिक सहमति, कानुन संशोधनका लागि अध्यादेश र निजामती प्रशासनका उच्च तहको बढुवासम्बन्धी निर्णय गरेको हो।



