सङ्खुवासभा । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण आयोजनाअन्तर्गत निर्माण गरिएको संरचनामार्फत पहिलो चरणमा गाउँपालिकाको केन्द्र हटियासम्म विद्युत् सेवा सञ्चालनमा आएको हो।
भोटखोलामा यसअघि नै विद्युत्का पोल र तार जडान गरिए पनि लामो समयदेखि लाइन चार्ज हुन सकेको थिएन। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तीर्थराज चापागाईँ आएपछि विद्युत् सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय र निरन्तर ताकेता गरिएको थियो। त्यसपछि नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएको हो।
खाँदबारीस्थित विद्युत् वितरण केन्द्रका अनुसार अब वडा नं. ३ को हुङ्गुङ गाउँसम्म विद्युत् सेवा विस्तार गर्ने तयारी छ।
दुर्गम हिमाली भूगोलमा रहेको भोटखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि गाउँपालिका तथा वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत सार्वजनिक सेवा प्रवाहसँगै स्थानीयको दैनिकीमा समेत सहजता आउने अपेक्षा गरिएको छ।
भोटखोला चीनसँग जोडिएको किमाथांका नाका रहेको गाउँपालिका पनि हो। चीन र भारतलाई जोड्ने गरी निर्माणाधीन कोशी राजमार्ग यही क्षेत्र हुँदै किमाथांकासम्म पुग्छ। सडकसँगै विद्युत् पूर्वाधार विस्तार हुनुलाई सीमा क्षेत्रमा आवश्यक सरकारी तथा व्यापारिक संरचना सञ्चालनका लागि महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ।
किमाथांका नाका व्यवस्थित रूपमा सञ्चालनका लागि सीमा क्षेत्रमा भन्सार, सीमा प्रशासन र अध्यागमनलगायत सरकारी संरचना आवश्यक छन्। ती संरचना सञ्चालनका लागि सडक, विद्युत् र भरपर्दो दूरसञ्चार सेवा आधारभूत पूर्वाधार हुन्।
राष्ट्रिय प्रसारण लाइन पुगेपछि अब भोटखोलामा उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारको आवश्यकता देखिएको छ। नेपाल टेलिकमको फाइबर नेटवर्क विस्तार भए सीमा प्रशासन, भन्सार, अध्यागमन तथा सुरक्षा निकायको सेवा सञ्चालन र सूचना आदानप्रदान थप सहज हुने अपेक्षा गरिएको छ।
सडक निर्माणसँगै विद्युत् र दूरसञ्चार पूर्वाधार विस्तार हुँदै गए किमाथांका नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार क्रमशः तयार हुँदै जानेछन्।



