काठमाडौँ । गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन भनेको हो।
‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीको व्यवस्था स्पष्ट गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि कार्यविधिमा उल्लिखित प्रावधान विपरीत सुरक्षाकर्मी खटाइएको तथा व्यक्तिगत वा घरायसी काममा प्रयोग गरिएको पाइएपछि मन्त्रालयले सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भए विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मी तत्काल फिर्ता पठाउन २०८३ असोज २२ गते निर्देशन दिइसकिएको छ।
उक्त निर्देशन तथा कार्यविधि विपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
त्यस्तै, कसैले कानुन विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरेको पाइएमा त्यसबारे गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।
मन्त्रालयले सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले असोज २३ गते उक्त सार्वजनिक सूचना जारी गरेका हुन्।




