काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनको पारदर्शिता र निर्णय प्रक्रियामाथि उठेका प्रश्न तथा आलोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन् ।
प्रतियोगिता सञ्चालनका क्रममा कुनै कमजोरी देखिएको भए त्यसलाई सच्याउँदै अघि बढ्न क्यान तयार रहेको उनको भनाइ छ । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले एनपीएल सञ्चालनसँग सम्बन्धित कामकारबाही, निर्णय प्रक्रिया तथा व्यवस्थापकीय विषयमा सम्बन्धित सरकारी निकायलाई आवश्यक विवरण र जवाफ उपलब्ध गराइसकिएको जानकारी दिए ।
उनले प्रतियोगितालाई व्यवस्थित, प्रभावकारी र पारदर्शी रूपमा सञ्चालन गर्न छुट्टै गभर्निङ काउन्सिल गठन गरी कार्यविधिसमेत तयार गरिएको बताए । प्रतियोगितासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू क्यानको केन्द्रीय कार्यसमिति र गभर्निङ काउन्सिलमा छलफल गरेर लिने गरिएको उनको भनाइ छ ।
खड्काले एनपीएल कुनै व्यक्ति विशेषको लोकप्रियता बढाउन वा कसैलाई कमजोर देखाउन आयोजना गरिएको प्रतियोगिता नभएको स्पष्ट पारे । नेपाली क्रिकेटको समग्र विकास, व्यावसायिक विस्तार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु नै प्रतियोगिताको प्रमुख उद्देश्य रहेको उनले बताए ।
एनपीएल सञ्चालनको प्रक्रियागत पारदर्शितामाथि उठेका प्रश्नका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र विवरण पेस गरिसकिएको उनको दाबी छ । सम्बन्धित निकायबाट प्राप्त पत्रहरूको जवाफसमेत दिइसकिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्यान संस्थागत जवाफदेहिता कायम गर्न प्रतिबद्ध रहेको बताए ।
क्यानको वर्तमान नेतृत्वले विगत तीन वर्षदेखि प्राप्त जिम्मेवारी पूरा गर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै खड्काले सकारात्मक उद्देश्य र सही नियतका साथ काम गर्दासमेत कतिपय अवस्थामा कमजोरी हुन सक्ने स्वीकार गरे ।
त्यस्ता कमजोरीलाई ढाकछोप गर्नुको सट्टा पहिचान गरी सुधार गर्दै लैजानुपर्नेमा उनले जोड दिए । प्रतियोगिताको व्यवस्थापन, निर्णय प्रक्रिया र संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदै छ ।




