काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु न्यायलाई केवल नारामा सीमित नराखी व्यवहारमा लागू गर्न माग गरेकी छन् ।
बिहीवार काठमाडौँमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो माग गरेकी हुन् ।
उनले विश्वको कार्बन उत्सर्जनमा नगण्य भूमिका रहे पनि नेपालले जलवायु परिवर्तनको चर्को मूल्य चुकाउनु परिरहेको भन्दै आक्रोश व्यक्त गरिन्।
उनले पीडित समुदायका लागि ऋणभन्दा अनुदानमा आधारित वित्त उपलब्ध गराउन विश्व समुदायसँग माग गरिन्। मन्त्री चौधरीले रसुवाको भोटेकोशीमा गएको बाढीलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै यसले देशको पूर्वाधार र जनजीवनमा गम्भीर असर पारेको बताइन् । प्रारम्भिक अध्ययनअनुसार पुनर्निर्माणका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने देखिएको र यो रकम राष्ट्रिय स्रोतबाट मात्रै जुटाउन नसकिने उनले स्पष्ट पारिन् । जलवायु परिवर्तनका कारण विश्वभरका ३४ देशका नागरिकसहित १ हजार ४५७ जनाको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको घटनाले संकटको गम्भीरता पुष्टि गरेको उनको भनाइ छ ।
सरकारले जलवायु न्यायका लागि कोप-३१ मा पर्वतीय एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको छ । मन्त्री चौधरीका अनुसार नेपाल र भूटानले संयुक्त रूपमा पर्वतीय एजेण्डालाई औपचारिक रूपमा प्रस्तुत गर्दै विश्व मञ्चमा हिमालको आवाजलाई बुलन्द बनाउने भएका छन् ।
जलवायु वार्तामा हिमालको आवाजलाई छुट्टै एजेण्डाका रूपमा स्थापित गर्नु नै अबको मुख्य लक्ष्य रहेको मन्त्री चौधरीले बताइन् ।
मन्त्री चौधरीले भनिन्, ‘जलवायुजन्य विपद्मा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दछु । भोटेकोशी, त्रिशूलीलगायतका क्षेत्रमा भएका विपद्ले जलवायु संकटको गम्भीरता उजागर गरेका छन् । विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि हामीले ठूलो क्षति व्यहोर्नुपरेको छ । जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट आवाज उठाउँदै आएको छ । जलवायु संकटमा बढी योगदान गर्ने राष्ट्रहरूले जिम्मेवारी लिनुपर्छ। प्रभावित समुदायलाई ऋण होइन, अनुदानमा आधारित जलवायु वित्त, प्रविधि र हानि तथा नोक्शानीबापतको सहयोग उपलब्ध गराइनुपर्छ । जलवायु नीति तथा कार्यक्रममा महिला, बालबालिका, युवा, आदिवासी जनजाति र सीमान्तकृत समुदायका आवश्यकतालाई प्राथमिकता दिनुपर्छ । साथै, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी समुदायस्तरमै जलवायु अनुकूलन र विपद् पूर्वतयारीलाई सुदृढ बनाउन आवश्यक छ । कोप ३१ मा नेपालले जलवायु न्याय, पर्वतीय एजेन्डा, अनुकूलन, जलवायु वित्त तथा हानि र नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउनेछ । यसै क्रममा नेपाल र भूटानले पर्वतलाई छुट्टै एजेण्डाका रूपमा अघि बढाउन संयुक्त प्रस्तुति पेश गर्ने तयारी गरेका छन् । हिमालको संरक्षण विश्वकै साझा जिम्मेवारी हो । सम्मेलनमा प्राप्त सुझावलाई नेपालको राष्ट्रिय अडान र कार्ययोजनामा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्दछु । हामीले पीडा भोगेका छौँ, तर आवाज गुमाएका छैनौँ । जलवायु न्यायका लागि नेपालको आवाज विश्वमञ्चमा बुलन्द बनिरहनेछ ।’
मन्त्री चौधरीले नीति निर्माणमा महिला, बालबालिका,आदिवासी जनजाति र सीमान्तकृत समुदायको आवाजलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । जलवायु अनुकूलनलाई सिंहदरबारबाट मात्र नभई वडा र स्थानीय तहसम्मै पुर्याउनुपर्ने उनको भनाइ छ । कोप-३१ मा नेपालले अनुकूलन, वित्तमा सहज पहुँच र हानि-नोक्सानी कोषको प्रभावकारी परिचालनका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरिन् ।




