काठमाडौँ । लाट्भियाको नयाँ संसद(१५ औँ साइमा) को सभामुखमा युनाइटेड लिस्टका एडवाड्रस स्मिल्टेन्स निर्वाचित भएका छन् । मंगलवार बसेको संसद्को पहिलो बैठकले स्मिल्टेन्सलाई सभामुखमा निर्वाचित गरेको हो ।
योसँगै उनले दोस्रो पटक उक्त पदको जिम्मेवारी पाएका छन् । सभामुख चयनका लागि भएको मतदानमा स्मिल्टेन्सको पक्षमा ७९ सांसदले मतदान गरेका थिए भने १५ जनाले विपक्षमा मत दिएका थिए । लाट्भियामा गत अक्टोबर ३ मा संसदीय निर्वाचन भएको थियो । केन्द्रिय निर्वाचन आयोगले अक्टोबर १६ मा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो ।
निर्वाचनमा युनाइटेड लिस्ट १०० सदस्यीय संसद्मा ४१ सिट जित्दै सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेको थियो । त्यस्तै, लाट्भिया फस्र्टले १७, सोभरेन पावर/अलायन्स अफ योङ लाट्भियन्सले १५, नेसनल एलायन्स र प्रोग्रेसिभ्सले समान १० तथा न्यू युनिटीले सात सिट जितेका थिए । सन् १९८४ सेप्टेम्बरमा जन्मिएका स्मिल्टेन्स यसअघि संसद् सदस्य र उपसभामुखका रूपमा काम गरिसकेका छन् ।
उनले सन् २०२२ नोभेम्बरदेखि २०२३ सेप्टेम्बरसम्म पहिलो पटक सभामुखको जिम्मेवारी सम्हालेका थिए । लाट्भियाको संसद एक सदनात्मक छ । संसद्मा १०० सदस्य रहने व्यवस्था छ र उनीहरू चार वर्षका लागि निर्वाचित हुन्छन् ।
लाट्भियाको संविधानअनुसार संसदीय निर्वाचनपछि निर्वाचित नयाँ संसदको पहिलो बैठक नोभेम्बर महिनाको पहिलो मंगलवार बस्नुपर्ने व्यवस्था छ । सभामुख संसद सदस्यहरूबाट निर्वाचित हुने र संसदको बैठक सञ्चालन तथा संसदीय कामकारबाहीको नेतृत्व गर्ने जिम्मेवारीमा रहने व्यवस्था छ ।




