काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा-भैँसे-भीमफेदी-कुलेखानी हुँदै काठमाडौँ आउने यात्रुवाहक सवारी साधनलाई शुक्रबार (मंसिर ४) आवतजावतका लागि कान्ति लोकपथ प्रयोग गर्न आग्रह गरेको छ।
हरिबोधिनी एकादशीका दिन भीमफेदी गाउँपालिका-१ त्रिखण्डीस्थित त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा मेला लाग्ने भएकाले कार्यालयले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले बिहीबार जारी गरेको सूचनामा मन्दिर क्षेत्रमा हुने श्रद्धालुको भीड र साँघुरो भिरालो सडकलाई ध्यानमा राखेर यात्रुवाहक सवारीको आवागमन सहज र सुरक्षित बनाउन कान्ति लोकपथ प्रयोग गर्न आग्रह गरिएको उल्लेख छ।






