काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सिचुवान प्रान्तको वेनचुआनमा भूकम्पपछि पुनर्निर्माण गरिएका बस्तीको स्थलगत अवलोकन गरेका छन्। टोलीले सन् २००८ को भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा खोज तथा उद्धारदेखि प्रभावित परिवारको पुनर्स्थापना र जीविकोपार्जनसम्मका अनुभवबारे जानकारी लिएको छ।
भ्रमण टोलीका सदस्य तथा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले राहत वितरण र बस्ती पुनर्निर्माणसँगै प्रभावित परिवारलाई आयआर्जनमा जोड्न चीनले अपनाएका उपायबारे बुझ्ने अवसर पाएको बताएका छन्।
पराजुलीले सामाजिक सञ्जालमा लेखेअनुसार त्यहाँ स्थानीय सरकार र समुदायले मिलेर विपद् जोखिम र सुरक्षित स्थान पहिचान गर्ने, सूचना प्रणाली तयार गर्ने र उद्धारमा कसको के जिम्मेवारी हुने भन्ने तय गरी नियमित अभ्यास गर्ने गरेका छन्। टोलीले भूकम्पको स्मृति जोगाउन स्थापना गरिएको सङ्ग्रहालय पनि अवलोकन गरेको पराजुलीले बताएका छन्।
वेनचुआनको अनुभव भोटेकोशी-त्रिशूली क्षेत्रमा विपद्पछिको पुनर्निर्माण र भविष्यका विपद्को पूर्वतयारीका लागि उदाहरण हुन सक्ने पराजुलीको भनाइ छ।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा कात्तिक २९ गते ११ दिने चीन भ्रमणमा निस्केको टोलीमा पार्टीका २० सांसद छन्। टोलीमा संसदीय दलका उपनेता पराजुली, मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटालगायत छन्।
बेइजिङ, हाङचोउ र सिचुवानलगायतका स्थान भ्रमण गरी टोली मंसिर १० गते स्वदेश फर्किने कार्यतालिका छ।





