काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको छ।
स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन करिब पाँच महिना बाँकी रहँदा आयोगले दलहरूसँग परामर्श थालेको हो।
आयोगमा जारी छलफलमा नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता सहभागी छन्।
छलफलका लागि आयोग पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई बैठकमा बस्न भनेर बाहिरिएका छन्।
पछिल्लो स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते भएको थियो। निर्वाचन भएको मितिबाट गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्ष हुने व्यवस्थाअनुसार हालका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०८४ वैशाख ३० गते सकिँदै छ।





