काठमाडौँ । सर्वोच्च अदालतले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षको धारणा सुन्न आगामी सोमबार (मंसिर १४ गते) का लागि पेसी तोकेको हो ।
सरकारको नियुक्तिसम्बन्धी निर्णयविरुद्ध सफलता बोगटीसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई उत्प्रेषणको रिट दायर गरेका थिए । रिटमा अन्तरिम आदेशसमेत माग गरिएको छ ।
इजलासले अन्तरिम आदेश माग गरिएको विषयको प्रकृति हेर्दा दुवै पक्षसँग छलफल गरेर निर्णयमा पुग्नु उपयुक्त हुने ठहर गरेको छ ।
सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ । निवेदकको मागबमोजिम आदेश जारी गर्नु नपर्ने आधार र कारण भए बाटोको म्यादबाहेक सूचना प्राप्त भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिइएको छ ।
अदालतले पहिलो र दोस्रो विपक्षीलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा तेस्रो र चौथो विपक्षीलाई आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनेको छ ।
बुधबारको सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू कीर्तिनाथ शर्मा पौडेल, डा. प्रेमराज सिलवाल र प्रेमबहादुर थापाले बहस गरेका थिए ।







