काठमाडौँ । भारतीय दूतावासले नेपालका विभिन्न तीन जिल्लामा विद्यालय भवन निर्माणका लागि सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ।
दार्चुला, धनुषा र कपिलवस्तु जिल्लामा तीन नयाँ विद्यालय भवन निर्माणका लागि नेपाल सरकारलाई एक सय सात मिलियन नेपाली आर्थिक सहयोग गर्ने भएको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय दूतावासले दार्चुला जिल्लाको धापस्थित मालिकार्जुन माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्गित वैद्यनाथ देवनारायण जनता माविको भवन निर्माणका लागि महाकाली नगरपालिका, दार्चुला र मुखियापट्टि मुसहरनिया गाउँपालिका, धनुषासँग छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत ती दुई विद्यालय भवन निर्माण गर्नका लागि जम्मा ७३।९६ मिलियन नेपाली रकम लागत हुने र उक्त रकम भारत सरकारले उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ। यसकालागि बेलपत्र आह्वान, कार्य हस्तान्तरण, दैनिक निरीक्षणलगायतका काम नेपाल सरकारले कार्यान्वयन निकायका रूपमा तोकेको महाकाली नागरपािलका, दार्चुला एवं मुखियापट्टि मुसहरनिया गाउँपालिका, धनुषाले गर्ने छन्। परियोजनालाई सङ्घीय तहमा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन सम्झौता पत्रमा उल्लेख छ।
यसै गरी कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवनको निमार्णका लागि भारत सरकारले ३३।०५ मिलियन नेपाली रकम सहयोग उपलब्ध गराउने सहमति भएको छ। शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रूपमा रहेको यस परियोजनासँग जोडिएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशम कँडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दार्चुला र धनुषा जिल्लाको माध्यमिक विद्यालय निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री
