पेसावर । पाकिस्तानको पेसावर सहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन् ।
क्लोज सर्किट टेलिभिजन क्यामेरा (सिसिटिभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुई वटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्युज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए ।
केही साताअघि बडबेरमा प्रहरीको भ्यानमा हतियार प्रहार हुँदा तीन प्रहरी घाइते भएका थिए । सोही दिन हयाताबाद नजिकैको प्रहरी चौकीमा पनि हात ग्रिनेड प्रहार भएको थियो ।
हालैका महिनाहरूमा खैबर पख्तुनख्वाका विभिन्न भागहरू विशेष गरी पेसावरमा प्रहरीमाथि आक्रमणका घटना बढेका छन्।
द न्युज इन्टरनेसनलका अनुसार पछिल्ला महिनाहरूमा पेसावर र अन्य सहरहरूमा धेरै प्रहरीहरूमाथि आक्रमण भएको थियो।
आधिकारिक रिपोर्ट अनुसार ४८ प्रहरीको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।