काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् ।
शनिवार काठमाडौँको खुल्ला मञ्चमा गरेको सो पार्टीको सभामा बोल्दै लामिछानेले एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका हुन् ।
उनले बाहरूले आफूलाई राजनीतिक सिक्न भने पनि आफूलाई उनीहरूले भनेजस्तो राजनीति सिक्न आवश्यक नभएको बताए । उनले भने, ‘ती तीन बाहरू केपी बा, देउवा, नानीका बा । पछाडि बा भएकाहरूलाई ससम्मान बिदा गरौँ किनकि अगाडि बा भएकाहरू डोजर लिएर निस्किसके । अब पछाडि बा भएकाहरूलाई स-सम्मान बिदा गर्ने बेला भएको छ । मैले यस कारण मैले राजनीति जान्नु भनेको कि राजनीतिका घिनलाग्दा दाउपेच जान्नु छैन भनेको हो ।’
उनले काठमाडौँका मेयर बालेन शाहको प्रशंसा गर्दै जनताको छोरो डोजर लिएर जाँदा कानुनी छिद्र खोजेर काम गर्न नदिने प्रयास भइरहेको बताए ।
उनले भने, ‘जनताको छोरो आज डोजर लिएर निस्किएको छ, कानुनको छिद्र खोजेर न्यायालयसम्म पहुँच भएका मान्छेहरूले २ मिनेट मात्रै समय पाएछन् भने अदालत पुगेर त्यो बेथितिलाई निरन्तरता दिनेछन् । त्यो बुझेको छोरो डोजर लिएर यसै निस्किएको छैन ।’