काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन्।
उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन् वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर सङ्घलाई आग्रहसमेत गरे।
शनिबार काठमाडौँको कलंकीस्थित नेपाल मगर सङ्घको भवन पुनर्निर्माण तथा सालिक अनावरण कार्यक्रममा उनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बताए।
संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने पनि उपराष्ट्रपति पुनको भनाइ थियो।
उपराष्ट्रपति पुनले आदिवासी जनजातिको पहिचान स्थापित गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आदिवासी जनजातिको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे।
उनले नेपाल मगर सङ्घले आदिवासी जनजाति योद्धाहरूको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।