काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी वा उद्योग-व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाउने बताएका छन् ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आश्वासन दिएका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका छन् ।
निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए । सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्द्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा सङ्कट आएको बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाउने भेटमा प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएका थिए ।