काठमाडौँ। सरकारले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९-८०-२०८७-८८) स्वीकृत गरेको छ ।
गत १२ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९-८०-२०८७-८८) स्वीकृत गर्ने निर्णय गरेको थियो । रणनीतिले स्वास्थ्य क्षेत्रमा विशेषगरी पाँचवटा उद्देश्यलाई अघि सारेको छ ।
स्वास्थ्य प्रणालीको कुशलता र उत्तरदायित्व अभिवृद्धि गर्नु, स्वास्थ्यका वृहत् निर्धारकहरुलाई सम्बोधन गर्नु, स्वास्थ्यमा दिगो लगानी र सामाजिक सुरक्षा प्रवर्द्धन गर्नु, गुणस्तरीय स्वास्थ्य सेवामा न्यायोचित पहुँच प्रवर्द्धन गर्नु, जनसङ्ख्या र बसाइसराइको व्यवस्थापन गर्नुलाई रणनीतिको मुख्य उद्देश्यको रूपमा अघि सारिएको छ ।
आठवर्षे रणनीतिले १४ वटा नतिजा प्राप्त गर्ने अपेक्षा गरेको छ ।
-स्वास्थ्यका लागि सीप-मिश्रित जनशक्तिको उत्पादन र परिचालन
-तथ्य र समतामा आधारित योजना तर्जुमा
-सुरक्षित र जनमैत्री स्वास्थ्य पूर्वाधार
-गुणस्तरीय औषधि र सामग्रीको नियमित उपलब्धता
-सुशासन, नेतृत्व र जबाफदेहितामा सुधार
-जनस्वास्थ्य विपत्को प्रभावकारी व्यवस्थापन
-स्वास्थ्यमा वृहत् निर्धारकको प्रतिकूल प्रभाव न्यूनीकरण
-आफ्नो, परिवारको र सामुदायको स्वास्थ्यप्रति जिम्मेवार नागरिक
-स्वास्थ्य क्षेत्रमा राज्यको लगानी वृद्धि
-स्वास्थ्यमा सुदृढ सामाजिक सुरक्षा
-स्वास्थ्य सेवाको गुणस्तरमा सुधार
-स्वास्थ्य क्षेत्रमा घट्दो असमता
-विकास प्रक्रियामा जनसाङ्ख्यिक लाभांशको उपयोग र जनसाङ्ख्यिक संक्रमणको व्यवस्थापन व्यवस्थित बसाइँसराइ र योजनाबद्ध बसोबास ।






