काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार बिहान बसेको माओवादी केन्द्रको कोशी प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको एक नेताले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन् ।
यसअघि नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग ४०, सत्ता सहयात्री दल राप्रपाको ६ सिट छ । त्यसैले मुख्यमन्त्रीलाई प्रदेशसभाको विश्वास आफूमाथि छ भन्ने पुष्टि गर्न थप एक मत आवश्यक पर्नेछ ।