काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् तथा महामारीमा विशेष सतर्कता अपनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।
विभिन्न जिल्लाहरूमा मानव तथा पशुहरूमा फैलिएको रोगबारे चासो राख्दै मन्त्रालयले कानुन बमोजिम स्थापित विपद् व्यवस्थापनका संयन्त्र तथा सरोकारवाला निकायसँग पर्याप्त समन्वय र सहकार्य गरी थप क्षति हुन नदिन विशेष सतर्कता अपनाउन भनेको हो ।
मन्त्रालयगत रूपमा आग्रह गरिए पनि स्थानीय तहहरूले अटेरी गर्ने गरेको गुनासोपछि तालुक निकायका रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको हो । केही दिन यता आँखा पाक्ने रोग, डेंगु सङ्क्रमण, गाईभैसीमा फैलिएको लम्पी स्किनको महामारी फैलिएको छ ।
मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा स्थानीय तहको भूमिका प्रभावकारी रहने भएकोले आवश्यक सहजीकरणको लागिसमेत परिपत्र जारी गरेको प्रशासनलाई बताए ।
