काठमाडौँ । जनमत पार्टीले अध्यक्ष सिके राउत लगायतका नेता कार्यकर्ता माथि लछारपछार गर्नेलाई कारबाहीको माग गरेको छ । पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
राष्ट्रिय पोसाक दिवस मनाउने क्रममा जनमतका अध्यक्षसहित नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने क्रममा धरपकड गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
‘सम्माननीय सभामुखज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू वा माननीय गृह मन्त्रीज्यूलाई नै प्रहरीले यसरी लछारपछार गरेर अकारण, बिना सूचना, बिना पक्राउ पुर्जी समातेको भए आज कारबाही हुने थियो कि थिएन ? यदि हुने थियो भने हाम्रो राष्ट्रिय अध्यक्ष, सङ्घीय मन्त्री वा सभापतिलाई लछारपछार गरेर समात्दा किन कुनै कारबाही हुँदैन ? खाली मधेसी भएको हुनाले नै त होइन ? यो राज्यको रङ्गभेद नीति हो कि होइन ?, ज्ञापन पत्रमा उल्लेख छ । लछारपछार गर्दै दुर्व्यवहार गर्ने प्रहरी र निर्देशन दिने अधिकारीलाई कारबाही नभए सरकार र संसद्को रङ्गभेदी चरित्रको विरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।