विदेश जाने श्रमिकलाई जहाजभित्र खानाको व्यवस्था गर्न श्रममन्त्री अर्यालको आग्रह « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विदेश जाने श्रमिकलाई जहाजभित्र खानाको व्यवस्था गर्न श्रममन्त्री अर्यालको आग्रह


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

‘युवाहरू विदेश जाँदा जहाजभित्र घण्टौँसम्म भोकै बस्नुपर्ने अवस्था छ,’ मन्त्री अर्यालले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एकटकको खानाको व्यवस्था गरिदिनुहोस् ।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रमिकलाई खाना दिने विषयमा आफूहरू सकारात्मक भए पनि एयरलाइन्स कम्पनीहरूले व्यावसायिक फाइदालाई मात्र हेर्दा यस्तो अवस्था आएको बताए ।

‘एयरलाइन्सले व्यावसायिक फाइदा मात्र हेर्दा श्रमिकहरू भोकै बस्नुपर्छ,’ उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य खाना उपलब्ध गराउन नियम बनाउनुपर्छ ।’

नेपालबाट दैनिक औसत १ हजार ५०० श्रमिक मलेसिया र मध्यपूर्वका मुलुकमा जाने गर्दछन् । नेपालबाट यी मुलुकमा हिमालयन, नेपाल, मलिन्दो, मलेसिया, कतार, एयर अरेबिया, फ्लाइ दुबई लगायतका एयरलाइन्सले उडान भर्दै आएका छन् । चार वटा एयरलाइन्सले मात्र अनिवार्य खाना दिने गरेको व्यवसायीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस