काठमाडौँ । विगतमा भएका सम्झौता कार्यान्वयन गर्न स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको ध्यानाकर्षण गराएको छ ।
स्थानीय सेवा कर्मचारी सञ्जालको केन्द्रीय नेतृत्वले मन्त्री जोशीलाई भेटेर विगतमा भएका सम्झौता कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाएको हो । सामान्य प्रशासन मन्त्रालयको २०८० असोज २५ को मन्त्रीस्तरको निर्णयबमोजिम गठित संवाद समितिसँग राष्ट्रिय स्तरका ट्रेडयूनियनका प्रतिनिधिहरूको उपस्थितिमा स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबिच भएको सम्झौता कार्यान्वयन गर्न सञ्जालले ध्यानाकर्षण गराएको हो ।
‘यस मन्त्रालयबाट विभिन्न मितिमा दोहरो सहमतिको आधारमा अन्तर स्थानीय तहमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई खटिएकै स्थानीय तहमा पदस्थापनको प्रबन्ध गर्ने’ भन्ने उल्लेख भए अनुसार अन्तर स्थानीय तहमा कामकाज गर्न खटिएका कर्मचारीहरूलाई खटिएकै स्थानीय तहमा पदस्थापन गरी सम्झौता कार्यान्वयन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । साथै कर्मचारी सञ्जालले सम्झौतामा उल्लेखित एकीकृत सिटरोल अभिलेख व्यवस्थापन लगायत अन्य नीतिगत व्यवस्थाहरूको यथाशीघ्र कार्यान्वयन गरी स्थानीय तहमा कामकाज गरिरहेका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरणको सृजना गरिदिनका लागि मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

कर्मचारी सञ्जालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई बोधार्थ गर्दै सम्झौता कार्यान्वयनमा आवश्यक सहजिकरण गरिदिन अनुरोध गरेको छ ।
सम्बन्धित समाचार : सरकारसँग १९ बुँदे सहमति, स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता