काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा १० जना घाइते भएका हुन् । दुई जनालाई निकाल्ने प्रयास भइरहेको छ ।
घाइते १० जनाको बाह्रबिशेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्था भएकाहरूलाई धुलिखेल वा काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।