काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थायी सरकारको रूपमा रहेको निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएकाले जनताको घरदैलोमा पुगेर अहोरात्र सेवा प्रदान गरिरहेको बताएका छन् ।
२१ औं निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सीमित स्रोत, साधन एवं पारिश्रमिकका बाबजुद राष्ट्र सेवामा निरन्तर खटिरहेका निजामती कर्मचारीको मनोबल उच्च बनाइ आफ्नो काममा थप उत्प्रेरित तुल्याउन आवश्यक भएको बताए ।
मन्त्री गुप्ताले भने,“कर्मचारीको क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता हो ।” नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योल हटाइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले जनताको सबैभन्दा नजिकैको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेवा प्रवाह र प्रवर्द्धनका लागि मन्त्रालयले काम गरिरहेको बताए । मन्त्री गुप्ताले भने,“सार्वजनिक सेवा प्रवाह, सुशासन अभिवृद्धि, सङ्घीयता कार्यान्वयन तथा शासकीय व्यवस्थालाई समायानुकुल तुल्याउन सबैले आफ्नो स्थानबाट रचनात्मक र सिर्जनात्मक योगदान पुर्याउनु पर्छ ।”
मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले कानुनी अधिकार प्राप्त गरेको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाइँदै आएको छ ।







