काभ्रे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीहरूसँग अन्तर्क्रिया गर्दै विपद्पछि स्वास्थ्य सङ्कटको थप जोखिम नआओस् भनी गरिएका तयारीहरूको अवलोकन गरेका छन्। काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक पुगेर उनले धुलिखेल अस्पतालमा भर्ना भएका विपद् प्रभावित बिरामीहरूको स्वास्थ्य अवस्था र सेवाको गुणस्तरबारे जानकारी लिए। उनले बिरामीहरूसँग कुरा गर्दै निःशुल्क उपचारको विषयमा सोधपुछ गरेका थिए।
धुलिखेल अस्पतालमा उपचाररत माइला तामाङ, जसले परिवारका सात जना गुमाएका थिए,सँग सहानुभूति प्रकट गर्दै मन्त्री पौडेलले उपचारमा कुनै कमी भए जानकारी दिन आग्रह गरे। तामाङले भने, ‘उपचार राम्रो पाइरहेको छु, तर पैसा तिर्नु पर्यो।’ उनले घर पनि नभएको बताएपछि मन्त्री पौडेलले उपचार खर्च सरकारले व्यहोर्ने र अन्य सहयोगका लागि आवश्यक पहल गरिने आश्वासन दिए।
मन्त्री पौडेलले बाढी पहिरोले निम्त्याउन सक्ने थप स्वास्थ्य समस्याको रोकथामका लागि पानीको शुद्धीकरण र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे। उनले स्वास्थ्यकर्मीहरूलाई सम्भावित संक्रमण फैलिन नदिन सचेतना फैलाउन र आवश्यक तयारीमा जुट्न निर्देशन दिए।

स्थानीय तहका प्रमुख र स्वास्थ्य कार्यालयका अधिकारीहरूसँगको अन्तर्क्रियामा मन्त्री पौडेलले मन्त्रालयले पानी शुद्धीकरण र स्वास्थ्य सेवाका लागि आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्ने बताए। उनले विपद्पछि स्वास्थ्य सङ्कट आउन नदिन सबै तहले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।
पनौती र बेथान चोकको अवलोकनपछि मन्त्री पौडेलले विपद्पछि उपचार सेवामा खटिएका स्वास्थ्यकर्मीहरूको प्रशंसा गर्दै संक्रमण रोक्न पानीको शुद्धीकरण र सरसफाइका सामग्रीहरू आवश्यकता अनुसार उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। ‘अरु पनि सहयोग आवश्यक भए मन्त्रालय तयार छ,’ उनले भने।
मन्त्री पौडेलले स्थानीयवासीलाई पानी उमालेर वा शुद्धीकरण गरेर मात्र सेवन गर्न आग्रह गर्दै स्वास्थ्य सङ्कटको सम्भावनालाई ध्यानमा राखेर सरकारको साथ रहेको आश्वासन पनि दिए।








