कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कालीकोट जीप दुर्घटनाका घाइतेको प्रभावकारी रूपमा उपचार गर्न निर्देशन दिएका छन् ।
दुर्घटना भए लगत्तै उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका मुख्यमन्त्री कँडेलले उपचार शीघ्र र प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले थप मानवीय क्षति हुन नदिने गरी चिकित्सकलाई उपचारमा खटिन आग्रह गरे ।
आज दिउँसो कालीकोटको पलाँता गाउँपालिका-५ स्थित खिनदेखि थिर्पुअर्फ जाँदै गरेको क ००१ ज ५६ नम्बरको बोलेरो जीप सोही गाउँपालिका-३ को राडुनेटा भन्ने स्थान दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी पलाता गाउँपालिका–६ का दशकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, सोही पालिकाका–५ का छाया शाही र वडानं ३ का दमन रोकायाको घटनास्थल र चालक धनिराम रावतको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको थियो भने थप एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
घाइतेहरूको उपचार भइरहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।







