काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले हेलिकोप्टर उडानमा बाधा/अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सोमबार सूचना प्रकाशित गरी कारबाहीको चेतावनी दिएका हुन्। ‘नियम अनुसार सञ्चालित हेलिकोप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धन लगायतका समस्या भएको भनी जनगुनासो प्राप्त भएकाले हेलिकोप्टर उडानमा बाधा-अवरोध गर्ने/गराउनेलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ।
सोलुखुम्बुका विभिन्न स्थानमा रहेका हेलिप्याडमा अनधिकृत व्यक्तिहरूले हेलिकोप्टर उडानमा अवरोध पुर्याएको भनी विभिन्न सञ्चारमाध्यमबाट जानकारी पाएकाले कारबाही गर्ने चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले प्रशासनसँग भने ।
उनका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको वासस्थानमा असर परेपछि व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाइएको छ।








