काठमाडौँ । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग अध्यादेशमा सहयोग माग्ने उद्देश्यले फोन नगरेको जिकिर गरेका छन् ।
आइतबार बिहान ‘वर्षमानजीसँगको फोनको कुरा’ बारे सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले उक्त जिकिर गरेका हुन् ।
शनिबार माओवादी केन्द्रका उपमहासचिव पुनले एमाले महासचिव पोखरेलले टेलिफोन गरेर अध्यादेश पारित गर्न सहयोग मागेको बताएका थिए ।
पार्टी कामको सिलसिलामा पाल्पा पुगेका बेला पोखरेलले टेलिफोन गरेको पुनले जानकारी दिएका थिए । पुनले कुराकानीको क्रममा आफूले अध्यादेशमा सरकारलाई सघाउन नसक्ने स्पष्ट पारेको बताए । महासचिव पोखरेलले अनौपचारिक कुराकानीलाई सहयोगको याचना भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।
उनले पुनसँगको संवाद कम्युनिष्ट एकताको सन्दर्भमा पनि हुनसक्ने संकेत गरेका छन् । ‘जहाँसम्म राजनीतिक ध्रुवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा एमालेको नीति स्पष्ट छ । विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अब पुनः त्यही काम गर्नु उचित हुँदैन’ उनले भनेका छन्, ‘कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलनको निर्माण अबको बाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’
