काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि सबैले ध्यान दिनु पर्ने बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय मातृ भाषा संरक्षण दिवसको अवसर पारेर भाषा आयोगले निर्माण गरेको भाषा प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि सबैले ध्यान दिनु पर्ने बताएका हुन् । मन्त्री पाण्डेले लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त समेत गरे ।
उनले भने, “लोप उन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन् । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।” उनले थपे, “भाषा हुन्थेन भने मानिसको जिन्दगी नै निराश हुन्छ ।”
उनले प्रत्येक भाषाले बोकेको सन्देश, अर्थ, संवेदनशीलता, दर्शन, इतिहास सभ्यता जतिसुकै भए पनि एकले अर्कोको भाषा बोल्न नसक्ने भएकाले ज्ञानको बहु आयामिक जोगाउनका लागि पनि भाषाको महत्त्व बढ्दै गएको बताए । उनले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताए।
मन्त्री पाण्डेले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गरे । साथै उनले सुविधा सम्पन्न नभए पनि भाषा प्रयोगशालाको स्थापनाले लोपोन्मुख भाषाको संरक्षणमा योगदान पुर्याउने विश्वास समेत व्यक्त गरे ।