सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
आज धरान उपमहानगरपालिका-१५ स्थित श्री शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले मुलुक निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताए ।
“सार्वजनिक विद्यालयले थप मेहनत गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ”, उनले भने । शिक्षा देश विकासको महत्त्वपूर्ण आधार स्तम्भ भएको उल्लेख गर्दै उनले श्री शिक्षा सदन स्कुलले यस क्षेत्रको शिक्षाको विकासमा पुर्याएको योगदानको प्रशंसा गरे ।
त्यस अवसरमा विद्यालयका व्यवस्थापन समितिले नीतिगत नेतृत्व गर्ने भएकाले विद्यालयका प्रमुख र शिक्षकहरूले यस भूमिकालाई निर्वाह गरेर विद्यालयलाई उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए ।