काठमाडौँ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई दुर्व्यवहार र कुटपिट गर्ने चार नगर प्रहरी पक्राउ परेका छन् ।
आइतबार कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने चार नगर प्रहरीलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयले आइतबार दिउँसो सिसिटिभी फुटेजसहित लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिवार राति कुटपिट गर्ने नगर प्रहरीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको थियो ।
छानबिनका लागि नगर प्रहरीका प्रमुख, नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई नियन्त्रणमा लिइएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले प्रशासनलाई जानकारी दिए । उनले भने, “अहिले उक्त घटनाको छानबिनको लागि धामीसहित अन्य चार जनालाई नियन्त्रणमा लिइएको छ, यसबारे थप अनुसन्धान भइरहेको छ।”
शनिवार राति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख धामीसहितका टोलीले भन्सार अधिकृतमाथि लछारपछार गर्दै कुटपिट गरेको सिसिटिभी फुटेज सार्वजनिक भएको थियो।
कार्यालय प्रमुखमाथि कुटपिट भएको विरोधमा कैलाली भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टहरूले ‘पेन डाउन’ गर्दै कामकाज ठप्प पारेका छन्। त्रिनगर नाकाबाट आयात–निर्यातसमेत रोकिएको छ।
भन्सार कार्यालयका अनुसार कैलाली भन्सार कार्यालयबाट दैनिक औसत तीन करोड रुपैयाँ राजस्व संकलन हुने गरेको छ। कर्मचारी आन्दोलित हुँदा राजस्व संकलन कार्यमा प्रत्यक्ष प्रभाव परेको छ।







