काठमाडौँ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अवैध धन्दा, असुली, मानव बेचबिखन र छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्ष दलले माग गरेको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सचेतक गंगाकुमारी बेलबासेले यस्तो माग गरेकी हुन् ।
बैठकको विशेषमा समयमा उनले भनिन्, ‘गृहमन्त्री रमेश लेखक बौद्धिक, शालीन, कानून बुझेको मन्त्री हुनुहुन्छ । उहाँले बुझ्नुपर्छ नैतिकताका आधारमा राजीनामा दिने भनेको पुनः उहाँ निर्दोष ठहरिएमा त्यही पदमा बहाल भएर आउन सक्नुहुन्छ । त्यसैले गृहमन्त्री रमेश लेखकले निष्पक्ष छानबिन गर्नका लागि नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दछु । विगतका यस्ता घटना पनि छन् । त्यसो भएको हुनाले यसलाई सहयोग गर्नका लागि उहाँले राजीनामा दिनुपर्छ भन्ने कुरा म पुनः राख्न चाहन्छु ।’
माओवादी सचेतक बेलबासेले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख बनाएर सहसचिव तीर्थराज भट्टराईलाई खटाएपछि भिजिट भिसामा जाने नागरिकबाट दैनिक ५० लाख भन्दा बढी असुलेको सेटिंगमा विदेश पठाएको साविती बयान दिइसकेको बताइन् ।
उनले भ्रष्टाचार प्रकरणमा मुछिएका भट्टराईलाई छानबिनमा तानिनु एक दिन अघि सरुवा गर्नु, अख्तियारमा कार्यरत डिआइजीलाई सरुवा गर्नु लगायतका काम गर्नु भ्रष्टाचारलाई सघाउनु भएको बताइन ।
सचेतक बेलबासेले यस अघि नै भिजिट भिसा प्रकरणमा मुछिसकेकाले व्यक्तिलाई गृहमन्त्री लेखकले आफ्नो सचिवालयमा राख्नुले गृहमन्त्रीको संलग्नता छैन भन्न नसकिने बताइन् ।
धेरै जसो घटनामा धेरै मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएको स्मरण गराउँदै सचेतक बेलबासेले गृहमन्त्री लेखकले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरिन् ।
भ्रष्टाचार प्रकरणमा मुछिएका तीर्थराज भट्टराईलाई हिरासतमा राखेर अनुसन्धान गर्नुको साटो निगरानी र हाजिरीमा राख्नु छानबिनलाई खुकुलो बनाउन खोजिएको आरोप सचेतक बेलबासेको छ ।
माओवादी सचेतक बेलबासेले बिचौलियाको काम गरिरहेका कविता पौडेल र भरत सुवेदीलगायत ट्राभल एजेन्सी सञ्चालकलाई कडाइ नगरिएको पनि बताइन् ।







