काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यागमन विभागमा संसदीय अध्ययन अवलोकन भ्रमण माग गरेको छ ।
यसका निम्ति रास्वपाकी सांसद डा. चन्दा कार्की भण्डारीले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन नै दिएकी छन् ।
‘भिजिट भिसाको नाममा अध्यागमन प्रक्रियामार्फत सेटिङ मिलाएर अवैध मानव तस्करीका प्रयासहरू र भ्रष्टाचार सम्बन्धी खबरहरूले देशभर गम्भीर सार्वजनिक चासो उत्पन्न गराएको छ । यस्ता कियाकलापकहरू सुशासन, पारदर्शिता र विधिको शासन जस्ता मूल्य मान्यतासँग प्रत्यक्ष टक्कर खाँदैछन्,’ डा. कार्कीको निवेदनमा उल्लेख छ ।
डा. कार्की आफैँ प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य हुन् ।
समितिका सभापति रामहरि खतिवडालाई निवेदन लेखेर उनले अध्यागमन विभागमा संसदीय अवलोकन भ्रमण माग गरेकी हुन् ।








