काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र एक लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने लक्ष्यसहित ‘केयर इकोनोमी पोलिसी’ निर्माण गरिरहेको छ ।
राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालको इतिहासमै पहिलो पटक यस्तो नीति निर्माण गर्न लागिएको जानकारी दिएका छन् ।
मन्त्री यादवका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिप र अनुभवलाई रोजगारी तथा उद्यमका अवसरसँग जोड्न ‘रिटर्नी कनेक्ट’ र स्वदेशमै प्लेटफर्म इकोनोमी विस्तार गर्न ‘श्रम सेवा’ नामका दुई डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने काम भइरहेको छ ।
युवा स्वरोजगार कोषमार्फत बिनाधितो कर्जा उपलब्ध गराउने, व्यावसायिक अवधारणा विकास गर्न सहयोग गर्ने तथा उद्यम सञ्चालनका लागि मार्गदर्शन प्रदान गर्ने कार्यक्रम पनि सरकारले अघि बढाएको छ । यसअन्तर्गत ‘युवा उद्यम सारथी’, ‘कर्मयोगी श्रम सम्मान योजना’ र ‘उद्यम बनाऊ उद्यम बढाऊ’ कार्यक्रम आगामी महिना ल्याउने तयारी रहेको मन्त्री यादवले बताए ।
श्रम तथा रोजगार क्षेत्रमा वर्षौँदेखि विद्यमान बेथिति हटाउन सरकारले सम्बन्धित नीति, ऐन र नियमावलीमा समयानुकूल परिमार्जन गरिरहेको उनको भनाइ छ ।
नेपालमा पहिलो पटक तर्जुमा भइरहेको राष्ट्रिय रोजगार ऐनमा सामाजिक उद्यमशीलतालाई समावेश गर्ने घोषणा गरिएको तथा वैदेशिक रोजगार ऐनमा १९ वर्षपछि व्यापक संशोधन गरिएको मन्त्री यादवले जानकारी दिए ।
संघीयता कार्यान्वयनपछि पहिलो पटक राष्ट्रिय युवा ऐन संशोधन गर्ने क्रममा राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा ३५ वर्षमुनिका युवालाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । मन्त्री यादवका अनुसार नेपालको इतिहासमै पहिलो पटक यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
सम्मेलनबाट प्राप्त हुने सुझावलाई सरकारी नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धतासमेत मन्त्री यादवले जनाएका छन् ।
उनले भने, ‘सम्मेलन पश्चात् तयार हुने ‘काठमाडौँ घोषणापत्र’का सुझावहरूलाई मन्त्रालयमा छलफल गरी कार्यान्वयनमा लैजान सरकार तत्पर रहेको छ।’
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल शासन, उद्यमशीलता, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक समानता तथा नागरिक सहभागितालगायत विषयमा छलफल हुनेछ ।







