काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको रत्ननगर सभाहललाई बकुलहर रत्ननगर अस्पतालको सेवा विस्तारमा उपयोग गर्ने गरी हस्तान्तरणका लागि पहल गर्ने बताएका छन् ।
निर्माणाधीन सभाहलको आज स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले स्थानीय आवश्यकता र मागलाई सम्बोधन गर्न नगरपालिकासँग समन्वय गरी उक्त संरचना अस्पतालकै व्यवस्थापनमा सञ्चालन हुने व्यवस्था मिलाउन प्रयास गर्ने बताए ।
विसं २०७३ मा निर्माण थालिएको रत्ननगर सभाहल एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। अङ्कुर पौडेलका अनुसार अस्पतालमा दैनिक एक हजार पाँच सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । पर्याप्त भौतिक पूर्वाधार नहुँदा बढ्दो बिरामीको चापअनुसार सेवा विस्तार गर्न कठिनाइ भइरहेको उनले बताए ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ का सांसद हरि ढकालले सभाहल अस्पताललाई उपलब्ध गराउने विषयमा यसअघि पनि मन्त्रीसँग छलफल गरेको जानकारी दिए । उक्त संरचना अस्पतालले प्राप्त गरे नर्सिङ कलेज सञ्चालन गर्नुका साथै उपचार सेवा र अन्य स्वास्थ्यसम्बन्धी गतिविधि विस्तार गर्न सहज हुने उनको भनाइ छ ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले नगर क्षेत्रमा दुई वटा सभाहल आवश्यक नरहेकाले निर्माणाधीन संरचना अस्पताललाई हस्तान्तरण गर्नु उपयुक्त हुने धारणा राखे ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले बिरामीको बढ्दो चापलाई सम्बोधन गर्न सभाहलको उपयोग गर्न सकिए स्वास्थ्य सेवा तथा शैक्षिक कार्यक्रम विस्तार गर्न सहज हुने बताए ।







