काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ ।
अहिले नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविनसहित केही वडाध्यक्ष र उपमेयरका समर्थकहरू थुनिएका हुन् ।
एक वडाध्यक्षका अनुसार बाहिर आन्दोलन चर्काएपछि उनी करिब तीन घण्टादेखि बाहिर निस्किन सकेकी छैनन् भने कार्यालयमा नेपाल प्रहरी परिचालन गरिएको छ ।
निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका छन् । तर, ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको ती वडाध्यक्षले बताए ।
प्रदर्शनका क्रममा केही कर्मचारीमाथि पनि कुटपिट भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि निलम्बित नगर मेयरले यादवले तालाबन्दी गरेका थिए ।







