काठमाडौँ । प्रेस चौतारी नेपालले बिजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेश र पत्रकार दिलभुषण पाठकमाथि पक्राउ पुर्जी जारी भएको विषयमा गम्भीर आपत्ति जनाएको छ।
प्रेस चौतारी नेपालले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै प्रकाशित सामग्रीप्रति विवाद भएमा प्रेस काउन्सिल नेपालले प्रारम्भिक निरूपण गर्ने संवैधानिक व्यवस्था रहेको जनाएको छ।
‘संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको हो भन्नेमा हामी प्रष्ट छौं। सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ,’ विज्ञप्तिमा उल्लेख छ।
यस्तै, नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता देखाउन प्रेस चौतारीले आग्रह गरेको छ।
प्रेस चौतारी नेपालले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत स्वतन्त्रता र प्रेस काउन्सिलको संस्थागत मर्यादा जोगाउन पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ। साथै, पत्रकार आचारसंहिताको पालना गर्न सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई अनुरोध गरेको छ।








