मोरङ। मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ । मोरङस्थित पथरी–कानेपोखरी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको हो ।
बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
शनिवार साँझ पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरीकी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीय छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् ।
मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हो । यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।







