काठमाडौँ । पर्सा प्रहरीले लागुऔषध अफिमको तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका-५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन् ।
बुधबार दिउँसो डेढ बजेको समयमा वीरगन्ज महानगरपालिका-१० रजतजयन्ती चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बिर्ता र लागुऔषध नियन्त्रण ब्युरो शाखा पर्साबाट खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा ना ४६ प २५४० र ना ४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार रामेश्वर राउत र पछाडि सवार विनोद गिरीले मोटरसाइकलको बीच भागमा हातले समाइ राखेको बोरा शंकास्पद रूपमा देखेपछि खानतलासी गर्दा बोरामा प्लास्टिकको झोलाभित्र टेपले बेरेर लुकाइ राखिएको लागुऔषध अफिम एक किलो फेला परेको थियो ।
अर्को मोटरसाइकलमा सवार चौधरी र श्रीवास्तवको पनि लागुऔषध तस्करीमा संलग्नता देखिएकोले उनीहरूलाई पनि पक्राउ गरी कारबाही सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालतबाट दिन पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।







