काठमाडौँ। गृहमन्त्री रमेश लेखकले लागुऔषधको नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
बिहीवार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताए ।
लागु औषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्नेसमेत जानकारी दिए।
गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरू बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ । उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेकोसमेत बताए।
लेखकले भने, ‘सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ । हामी लागु औषधलाई नियन्त्रण गर्नका लागि तपाईँहरूले भन्नुभए जस्तै छिटै नै छुट्टै विभागको स्थापना गर्नेछौँ । म यो घोषणा गर्दछु । आउने आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ । म यो आग्रह गर्न चाहन्छु । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरू बनाएर काम गरिरहेको छ । ’
गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताए।







