काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दै नवनियुक्त मन्त्री भगवती न्यौपानेले औपचारिक शपथपश्चात् जनता समक्ष फेरि एक पटक निष्ठा र इमानको शपथ लिएको घोषणा गरेकी छन्। उनले पदको गम्भीरता र संवैधानिक मर्यादा स्मरण गराउँदै नि:स्वार्थ सेवा, पारदर्शिता र दीर्घकालीन राष्ट्रिय हितलाई आफूले कार्यदिशा बनाउने दृढ संकल्प व्यक्त गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक मन्तव्य दिँदै मन्त्री न्यौपानेले भनिन्, “म समस्त नेपाली जनता समक्ष निष्ठा र इमानबाट कहिले पनि विचलित हुने छैन भनेर फेरि पनि शपथ लिएको घोषणा गर्दछु।” उनले आफू कुनै पनि अवस्थामा भ्रष्टाचारजन्य कार्यमा संलग्न नहुने दाबी गर्दै भनिन्, “म सफा र बेदाग छु, म कहिल्यै लोभ र लाभले विचलित हुने छैन।”
प्रधानमन्त्री र पार्टीप्रति आभार, तनहुँ जनतालाई स्मरण
मन्त्री न्यौपानेले आफूलाई यो जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गर्दै नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता र आफू जन्मे हुर्केको तनहुँवासी जनताप्रति सम्मान प्रकट गरेकी छन्। “प्रधानमन्त्रीज्यूको विचार, भावना र कार्यक्रमलाई कार्यरुपमा उतार्न मेरो योगदान रहनेछ,” उनले भनिन्।
‘अब काम गर्ने बेला हो, बोल्ने होइन’
“मैले भन्ने कुरा खासै केही छैन। साँच्चै भन्ने हो भने मेरा भन्ने कुरा अब सकियो, गर्ने काम मात्र बाँकी छ,” भन्दै मन्त्री न्यौपानेले सबै नागरिक र सरोकारवालाबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेकी छन्। उनले भाइरल र चर्चित बन्ने प्रवृत्तिबाट आफू टाढा रहने स्पष्ट पार्दै “म क्षणिक लोकप्रियताका लागि काम गर्दिनँ, म जिम्मेवार र गम्भीर सरकारको सदस्य हुँ,” भनिन्।
जिम्मेवारीका सिद्धान्तहरू: नीति, बजेट र जनचाहना
उनले वर्तमान सरकारको नीति, कार्यक्रम, बजेट, संसदीय अभिव्यक्ति तथा जनअपेक्षालाई मार्गदर्शक मान्दै त्यसै अनुरूप आफ्नो काम अगाडि बढाउने प्रतिबद्धता जनाइन्। “यो सरकारको नीति तथा कार्यक्रम, संसद्मा अभिव्यक्त विचार तथा प्रधानमन्त्रीबाट हुने घोषणा एवं जनचाहना मेरा मार्गदर्शक सिद्धान्त हुन्,” मन्त्री न्यौपानेले स्पष्ट गरिन्।
नैतिक बल र भ्रष्टाचारविरुद्धको अडान
मन्त्री न्यौपानेले नैतिक बललाई आफ्नो सबैभन्दा ठूलो शक्ति बताउँदै त्यसलाई कहिल्यै नछाड्ने दृढता दोहोर्याइन्। “म नेपाली जनताको कसम खाएर भन्छु, मबाट भ्रष्टाचारजन्य कुनै पनि काम आजसम्म भएको छैन, अब पनि हुँदैन,” उनले भनिन्।
उनले विभिन्न माध्यमबाट आफूलाई बधाई र शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै अन्त्यमा लेखेकी छन्, “विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण शुभचिन्तक एवम् आदरणीय महानुभावमा हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहन्छु।”
पछिल्ला केही वर्षयता मन्त्रालयको काम, कर्तव्य र अधिकारलाई मन्त्रीहरूले गम्भीर रूपमा नबुझेको, र यसलाई केवल ‘सरुवा मन्त्रालय’ का रूपमा सीमित गराउने प्रयास हुँदै आएको भन्दै चौतर्फी आलोचना भइरहेका छन्। बिडम्बनापूर्ण रूपमा, पछिल्ला मन्त्री राजकुमार गुप्ता घुस अडियो प्रकरणपछि पदबाट बाहिरिनु पर्यो, जुन घटनाले भ्रष्टाचारलाई मलजल दिने प्रवृत्तिको गम्भीर संकेत दियो। यस्तो पृष्ठभूमिमा मन्त्री भगवती न्यौपानेद्वारा जनतासामु गरिएको निष्ठा र इमानको सपथलाई गम्भीर सन्देशको रूपमा हेरिएको छ। के उनी यस मन्त्रालयको महत्व र जिम्मेवारीलाई, स्थायी सरकारका रूपमा चिनिने कर्मचारीतन्त्रमा प्रभावकारी रूपमा बोध गराउन सक्षम हुनेछन् त ? यसको उत्तर भने केही दिन पर्खिनु पर्नेछ।







