काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पोलिटब्युरो बैठकको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेताहरुले आफ्नो दृष्टिकोण भरपुर रूपमा स्वतन्त्र भएर राखेको दाबी गरे।
पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही नेताहरूलाई कारबाही गरिए पनि आत्मालोचनापछि पार्टीमा फर्किसकेको उनको भनाइ थियो। प्रस्तावित पार्टी विधानमा तीन जना उपाध्यक्ष रहने र वरिष्ठ उपाध्यक्ष नराख्ने प्रस्ताव रहेकोसमेत बताए।
उनले भने, ‘एमालेभित्र अब वाक स्वतन्त्रता, पार्टीमा दृष्टिकोण राख्ने कुरैमा बन्देज छ भन्ने कुरा बाहिर जुन चर्चा भएको छ, त्यो सत्यता होइन। एमालेको बैठकमा कुनै सदस्यहरूको बीचमा कुनै भनाभन भएको छैन। हामी सौहाद्रपूर्ण रूपमा दृष्टिकोण राखिरहेका छौँ।’



