काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले शासकीय स्वरूपका सन्दर्भमा र अहिले मौलाइरहेको भ्रष्टाचारको सम्बन्धमा गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रशासन बाहिर उभिएर दबाब दिएको छ भने प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेसपा नयाँ शक्ति गण्डकीको आयोजनामा सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो भने जिल्ला प्रशासन कार्यालयबाहिर १ घण्टा उभिएर दबाब दिएको हो ।
नेसपाले अहिले पोखराको लिची बगैँचासँग जोडिएर नाम आएका सबै मन्त्रीमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
प्रदेश संयोजक नेत्र चापागाईँले प्रशासन बाहिर उभिएर भने, ‘लिची बगैँचासँग जोडिएका पूर्व र वर्तमान मन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धानको दायरामा ल्याइयोस् भने बिचौलियामाथि कारबाही होस् । ल्याबबाट अडियो साँचो भएको पुष्टि हुँदासमेत सरकारले आलेटाले गर्नु भनेको भ्रष्टाचारलाई प्रोत्साहन गर्नु हो ।’
अहिलेसम्मका सबैजसो भ्रष्टाचारको अनुसन्धान गर्न माग नगरेको नयाँ शक्तिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै शासकीय स्वरुका विषयमा ध्यानाकर्षण गराएको छ ।
नेसपाका केन्द्रीय सदस्य टीकाराम पौडेलले ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराए, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, बहु सदस्यीय समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली, संसदमा पूर्ण समानुपातिक निर्वाचित प्रणाली होस् ।’
नयाँ शक्तिले विज्ञता र दक्षताका आधारमा मन्त्रिमण्डल गठन गर्नसमेत माग गरेको छ । राइट टु रिजेक्ट र प्रत्याव्हानको अधिकार (राइट टु रिकल) व्यवस्था हुनुपर्ने उसले बताएको छ ।
गोरखकाली रबर उद्योग सञ्चालन, बुढी गण्डकी जलविद्युत (जलाशययुक्त) आयोजनाको यथाशीघ्र निर्माण र सञ्चालन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित र व्यवस्थित सञ्चालन, पोखरा बसपार्क निमार्ण, मध्यपहाडी लोकमार्गको निर्माणमा भएको ढिलासुस्ती अन्त्यगर्नसमेत प्रजिअमार्फत प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
पुराना राजनीतिक शक्तिहरू हिजोकै सोच, शैली, स्कुलिङ र पूर्वाग्रहबाट चलिरहेको भन्दै गण्डकी संयोजक चापागाईँले नयाँ युगलाई पुरानो राजनीतिक चेतनाले नेतृत्व गर्न नसक्ने जिकिर गरेका छन् ।







