काठमाडौँ। इरानले आगामी कुनै पनि वार्तामा अमेरिकालाई आफ्नो आणविक साइटहरूमा आक्रमण गरेको विषयमा जवाफदेही बनाउने बताएको छ । साथै, उसले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना पनि अस्वीकार गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले सोमबार पत्रकार सम्मेलनमा भने, ‘कुनै पनि सम्भावित वार्तामा, अमेरिकाले इरानका शान्तिपूर्ण आणविक स्थापनामाथि गरेको सैनिक आक्रमणको जवाफदेही र क्षतिपूर्ति माग मुख्य विषय बन्नेछ।’
गत जुन २२ मा इजरायलद्वारा सुरु गरिएको युद्धमा संक्षिप्त रूपमा अमेरिकाले पनि भाग लिँदै इरानका फोर्डो, इस्फाहान र नताञ्जका आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । यसले अप्रिलदेखि सुरु भएको उच्च-स्तरीय वार्ता प्रक्रियालाई अवरुद्ध गर्यो।
इरानले त्यसयता संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था (आइएइए) सँगको सहकार्य निलम्बन गरेको छ र वार्ता पुनः सुरु हुनुभन्दा पहिला सैन्य आक्रमण विरुद्धको ग्यारेन्टी माग गरेको छ। अमेरिकाले भने इरानको क्षतिपूर्तिको मागलाई ‘हास्यास्पद’ भन्दै खारेज गरिसकेको छ ।






