काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा रहेको बताएका छन्।
पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा मात्रै भई राजनीतिक दलहरूमाथि नै चुनौती बढिरहेको बताए।
उनले भने, ‘हामी चुनौतीलाई पन्छाउँदै अघि बढिरहेका छौँ। त्यसलाई समाधान गर्ने आँट राख्नुपर्छ। पार्टीभित्र समस्या पनि छन्, पार्टीमा काम गर्ने साथीहरू पनि छन्, सबै यहाँ धाउने मात्रै होइन, जिल्ला सदरमुकाममा गएर मात्रै बस्न पनि पाइँदैन। जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ।’
उनले पार्टीका नेता कार्यकर्तालाई निराशालाई हटाएर सकारात्मक ढंगले अघि बढ्न आग्रह गरे। उनले नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताए। पार्टीमा विचारको कुनै समस्या नै नरहेको बताए।
उनले भने, ‘मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अघि बढाउने नीति अघि बढाउनुपर्छ भनेका छौँ। हामीले त्यो बेलामा विद्रोह गरेको भए, आँट नगरेको भए त्यही पार्टीभित्र पनि विद्रोही चेत भएका मानिसहरू तयार हुने थिएनन्। हामी सुनिरहेका छौँ, ती पार्टीहरूको समस्या।’
उनले निराश मानिसहरू पलायन भएर जाने बताए।
उनले भने, ‘गर्न सक्नेहरू अगाडि बढेर गरेर देखाउँछन्। पार्टीपंक्तिले सकारात्मक सन्देश दिनुपर्छ। पार्टी कमिटीभित्र बसेर सबै कुरा छलफल गर्न पाइन्छ। त्यो आन्तरिक मामिला बनाउनुपर्छ। छलफल गर्न सकिन्छ। कुनैलाई हामीलाई सम्झाउनुपर्ने हुन्छ।’







